दिपू वर्णवाल
भाद्र २, वीरगञ्ज । मारवाडी समुदायलाई लक्षित गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिएको अभिव्यक्ति प्रति वीरगञ्ज महानगरपालिकाले खेद प्रकट गरेको छ ।
वीरगञ्जका मेयर राजेशमान सिंहले शनिवार एउटा ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै मारवाडी समुदायलाई लक्षित गर्दै व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय विभिन्न मञ्च र सञ्जाल मार्फत दिएको अभिव्यक्तिलाई गैह्रजिम्मेवारीपूर्ण र निन्दनीय बताउँदै खेद प्रकट गरेका हुन् । उनले सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न पनि अनुरोध गरेका छन् ।
‘सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईँको “मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको” भन्ने जस्ता गैह्रजिम्मेवारीपूर्ण सार्वजनिक अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछु,’ मेयर सिंहद्वारा जारी ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ । तसर्थ सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध छ ।’
मेयर सिंहले नेपालको अर्थतन्त्र चलायमान बनाउनेदेखि विभिन्न सामाजिक क्षेत्रमा समेत मारवाडी समुदायको उत्साहजनक सहभागिता रहेको बताएका छन् । ‘औद्योगिकीकरण र व्यवसायीक लगानी मार्फत मुलुकमा रोजगारी सृजना गरी अर्थतन्त्र चलायमान बनाउन मारवाडी समुदायको ठूलो योगदान रहेको कुरा सवैमा सर्वविदितै छ ।
त्यसका अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने अन्य क्षेत्रहरूमा पनि मारवाडी समुदायको उत्साहजनक सहभागिता रहँदै आएको छ ।’प्रसाईँ नेतृत्वको समूहले पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समुदायको चरित्र हत्या गर्ने किसिमको अभिव्यक्ति दिँदै आएको छ । उनको समूहले बैङ्क वित्तीय संस्थाको ऋण नतिर्न आह्वान गर्नुका साथै मारवाडी समुदायविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी समेत दिएको छ ।
त्यस्तै उद्योगी तथा व्यावसायिकहरूको छाता सङ्गठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पनि शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै मारवाडी समुदायमाथि लक्षित दुर्गा प्रसाईँको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गरेको थियो ।