भारत-नेपाल अन्तर सरकारी उपसमितिको पछिल्लो बैठक काठमाडौँमा सम्पन्न

भारत-नेपाल अन्तर सरकारी उपसमितिको पछिल्लो बैठक काठमाडौँमा सम्पन्न

माघ १, काठमाण्डौँ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत नेपाल अन्तर सरकारी उपसमिति आइजीएससीको पछिल्लो बैठक काठमाडौँमा सम्पन्न भयो । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरे भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरे ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गर्यो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँच बारे छलफल गरे । भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधान अनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पार्यो ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस