भाद्र २१, काठमाण्डौँ । प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्व विद्यालयबीच आज (शुक्रबार) मास्टर्स इन पुलिस साइन्स (एमपीएस) मा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माबीच प्रहरी प्रधान कार्यालयमा एमपीएसका बारेमा सम्झौता भएको हो । यो सम्झौता भएसँगै नेपाल प्रहरीमा अब औपचारिक रूपमा स्टाफ कलेज कोर्स सुरुवात भएको छ ।
प्रहरीको नीति तथा समन्वय समिति (पीसीसी) बाट गत जेठमा प्रस्ताव स्वीकृत भएपछि स्टाफ कलेजको कोर्सलाई अघि बढाइएको थियो । प्रहरी महानिरीक्षक (आइजीपी) को नेतृत्वमा रहेको पीसीसीले प्रस्ताव पारित गरेपछि यही आर्थिक वर्षबाट स्टाफ कलेज कोर्स लागु गर्ने गरी तयारी अघि बढाइएको छ । सोही अनुसार शुक्रबार त्रिविसँग सम्झौता भएपछि कोर्स अघि बढेको आइजी कुँवरले बताएका छन् ।
सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस कार्यक्रम सुरु गरिएको आइजी कुँवरले जनाएका छन् । सम्झौता भएसँगै प्रहरी एकेडेमीले वार्षिक क्यालेन्डर बनाएर स्टाफ कलेज अघि बढाउने अन्तिम तयारीमा जुटेको छ । एमपीएसको कोर्सको रूपमा स्टाफ कलेज लागु गरिएको हो । यही असोजबाटै प्रवेश परीक्षा सुरु गर्ने तयारी रहेको रहेको एकेडेमीका एआईजी सुदीप गिरीले बताएका छन् ।