जेठ १३, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–३ मा यात्रुबहाक बस ब्रेक फेल भएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो साँझ बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मृत्यु हुनेमा सिराहा औराही गाउँपालिका–१ का ३६ वर्षिय रघुनन्दन यादव र ठेगाना नखुलेका ४० वर्षीय कृष्ण बलामी र ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ । अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यस्तै नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अम्रसा जङ्गलमा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुन रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । दुर्घटनापछि सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए ।
गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।