चैत्र २४,काठमाडौँ । भारतमा आइतबार राति ९ बजे ९ मिनेट बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानप्रति ऐक्यवद्धता जनाएका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए। यसो त मोदीको आह्वानलाई स्विकार्दै नेपाल , जापान बंगलादेश र भुटानमा समेत नागरिकले स्व–स्फुर्त राती दियो, मैनबत्ती बालेका थिए । भारतमा राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह चर्चित व्यवसायी रतन टाटालगायतले पनि दीप प्रज्वलनमा भाग लिएका थिए ।
प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए। प्रधानमन्त्री मोदीले समेत दिल्लीस्थित आफ्नो निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन्।
आइतबार धार्मिक मान्यता अनुसार चैत्र शुल्क त्रयोदशी रबि प्रदोष परेको दिन हो। चन्द्रमा सिंह राशिमा प्रबेश गरेको दिन रबिबार सुर्यको दिन पनि । हिन्दु शास्त्रअनुसार आइतबारको यस्तो समय दुर्लभ नै आउने ज्योतिषविदहरुले बताएका छन। मोदीको आह्वानको समय ९ बजे ९ मिनेट शुभ समय रहेकोले आफु जहाँ छौ त्यही दिप प्रज्वलन गर्दा सुख,शान्ति तथा समृद्धि हुन्छ। समय बलवान भएको हुनाले कुनै मनोकामना पुरा गर्नको लागी भगवानको प्राथना गर्न सकिने विश्वाससमेत राखिएको छ ।
विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ। त्यस्तै आइतबारमात्र भारतमा ७ सय बढी संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ, जसमध्ये ३ हजार ८७४ जना उपचाररत छन् भने ३२८ जना उपचारपछि घर फर्किएका छन् ।