भाद्र २५, काठमाण्डौँ । मोरङ र सुनसरीमा श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न भारतीय नागरिकसहितको हतियारधारी गिरोहसँग प्रहरीबाट लुटिएको हतियार भेटिएको छ ।
गिरोहलाई प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–५ कोयलपुरबाट पक्राउ गरेको छ । पक्राउ परेको गिरोह प्रहरीलाई आक्रमण गरेर हतियार एवं गोली लुटपाट गरिएको घटनामा समेत संलग्न रहेको पत्ता लागेको छ । प्रहरीबाट लुटिएको हतियारसमेत बरामद भएको छ । ७ जनाको उक्त गिरोहमा १४ वर्षीय बालक र एकजना भारतीय पनि छन् ।
सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, दुहवी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम र १४ वर्षीय बालक एवं मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम (सिजाम मोबाइल सेन्टरका सञ्चालक) र बूढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया पक्राउ परेका हुन् ।
उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो । पत्रकार सम्मेलनमा कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, एसएसपी जयराज सापकोटा, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मी, मोरङका डीएसपी रन्जनकुमार दाहाल, वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठलगायतका प्रहरी अधिकारी उपस्थित थिए ।
उक्त समूहविरुद्ध डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार रिजवान २०६४ देखि २०७९ सम्ममा मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधिक घटनामा संलग्न व्यक्ति हुन् । उनीविरुद्ध डाँका ज्यान, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा मोरङ र सुनसरी अदालतमा दर्ता भएको थियो ।
हातहतियार खरखजना मुद्दामा २०७० सालमा पुर्पक्षका लागि कारागार चलानसमेत भएका थिए । रिजवान २०६४ को डाँका र २०६५ को डाँका ज्यान मुद्दाका फरार प्रतिवादी रहेको डीएसपी दाहालले बताए ।