प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।
नारायणप्रसाद न्यौपानेको शव भने राति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ ।
शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत हनान गोडर लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।
उनले प्यालेस्टिनी आतंकवादीको आक्रमणमा परी मृत्यु भएका १ हजार ४०० जनाको शव इजरायलमा रहेको भन्दै ती शव पहिचान गरेर पठाउने क्रम जारी रहेको जानकारी दिए । उनले इजरायलमा बेपत्ता विपिन जोशीलाई खोज्न अन्तर्राष्ट्रिय समुदाय र सहयोगी संस्थामात्र नभइ हमासलाई पनि खोजीका लागि आह्वान गरेको जानकारी दिए ।
इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको जनाएको छ । अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ ।
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।