दिपू वर्णवाल
कार्तिक १५, वीरगञ्ज । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक प्रिन्सिपल रुपेश सर्राफको
हत्यामा संलग्नलाई बारा प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
सर्राफको हत्यामा संलग्नलाई प्रहरीले मङ्गलवार नै सार्वजनिक गरेन तयारी गरे पनि अनुसन्धान टुङ्गो नलागेका कारण आज बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक एसपी सुरेश प्रसाद काफ्लेले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने जानकारी दिए ।
हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको बुझिएको छ । सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार सर्राफको हत्या पछाडिको प्रमुख कारण विवाहेत्तर सम्बन्ध रहेको छ । उनकै स्कूलमा कार्यरत एक पूर्व कर्मचारीसँगको प्रेम सम्बन्धका कारण हत्या भएको प्रहरी स्रोतको भनाई छ । पूर्व कर्मचारी महिलाले नै आफ्ना अर्का प्रेमीसँग मिलेर सर्राफमाथि आक्रमण गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरी अधिकृतले दाबी गरे । सर्राफ विवाहित छन् । उनका दुई छोरा छन् ।
सोमबार दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय सर्राफमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार सर्राफको टाउको, घाँटी र छातीमा गरी तिन वटा गोली लागेको थियो ।
उनको मङ्गलवार हिन्दू धर्म संस्कृतिअनुसार अन्त्येष्टि गरिएको छ ।