बैशाख १,काठमाडौँ । नयाँ बर्ष २०८१ आजबाट शुरु भएको छ । खासगरी २०८० को साल आम नागरिकमा निराशा,महंगी,राजनितिक रुपमा व्यापक उथलपुथल र आर्थिक रुपमा संकटको बर्ष रह्यो । आम नागरिकले अपेक्षा गरेअनुसार २०८० रहन सकेन् । विश्भर फैलिएको आर्थिक मन्दीको चपेटामा हाम्रो देशपनि अछुतो रहन सकेन् । सत्ताको खिचातानी र आर्थिक मन्दीले आम नागरिकमा निराशा कायम भैरहदा नयाँबर्ष २०८१ ले थुप्रै आशा गरेको देखिन्छ । २०८० लाई फर्केर हेर्दा कस्तो रह्यो त ? संक्षेपमा यसरी सम्झन सकिन्छ ।
विसं २०८० मा नेपालमा धेरै परिवर्तनहरू भए । विगतका वर्षजस्तै यो वर्ष पनि आन्दोलनका शृङ्खलाले निरन्तरता पाइरहे । विभिन्न घटनाक्रमले २०८१ लाई सम्झाइरहनेछ । बहालवाला गृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भए । बहालवाला उच्च पदस्थ व्यक्तिहरू नक्कली भुटानी शरणार्थी काण्डमा जेल चलान भए भने बहालवाला मन्त्रीको हठ र संवेदनशीलताका कारण बालकुमारीमा भीड उत्तेजित हुँदा २ युवाको ज्यान समेत गयो । यही वर्ष ब्रेक सुमा लुकाएर तस्करी गरी ल्याउन खोजिएको करिब ६० किलो सुन पनि जफत भयो र यसमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ समेत गरियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनितिक रुपमा सत्तागठबन्धन फेरिरहे । सुरुवातमा एमालेसंग गठबन्धन गरेर प्रधानमन्त्री भएका प्रचण्ड फेरि काग्रेससंग गठबन्धन गरेर आफ्नो सत्ता टिाउन सफल भए । केहिसमयकै अन्तरालमा प्रचण्डले कांग्रेससंग सहकार्य तोडेर एमालेसंग सत्ता गठबन्धन गरेर ताजा विश्वासको मत लिएका छन् । खासमा प्रचण्डले यसबर्ष संसदमा विश्वासको मत पाइरहेपनि उनि त्यतीकै अविश्वासी पनि भइरहे । प्रधानमन्त्री प्रचण्डले शक्तिमा आएको १५ महिना बित्दा ३ पटक विश्वासको मत लिए ।
बर्षको अन्त्यतिर राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रकाली मन्दिर नजिकै राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै गरेको आन्दोलनले उग्र रूप लियो र झडप भयो । जसका कारण सठक ताते । खासमा भन्ने हो भने यसबर्ष आन्दोलन दिनदिनै जस्तो भैरहे । कहिले दुर्गा प्रसाईले राजतन्त्रको पक्षमा लघुबित्त पिडितलाई प्रयोग गरेर आफु केन्द्रमा रहिरहे । आन्दोलनकै शृङ्खलामा वर्तमान र निवर्तमान गृहमन्त्रीको राजीनामा माग्दै समय समयमा प्रदर्शन भइरहे । मिटरब्याजी र लघुवित्त पीडितले राजधानीमा प्रदर्शन गरे ।
यसबर्ष टिकटक प्रतिबन्धले पनि चर्चा पायो । अप्रत्याशित रूपमा सरकारले तिहारको मौका पारेर नेपालमा टिकटकमा प्रतिबन्ध लगाएको विरोधमा पनि आन्दोलन भयो । कन्टेन्ट क्रियटरहरुले सडकमा विभिन्न तरिका अपनाएर प्रदर्शन गरे तर सर्वोच्च अदालतले पनि प्रतिबन्धलाई सदर गरेपछि भने यो विषय सेलाएर गयो ।
२०८० को अर्को ठुलो आन्दोलन भनेको अस्थायी र करारका शिक्षकको थियो । काठमाडौँको मुख्य सडक माइतीघरदेखि बानेश्वरको एभरेस्ट होटेलसम्मको सडक ढाक्ने गरी देशभरबाट शिक्षकहरू सडकमा उत्रिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि तत्कालीन विपक्षी नेकपा एमाले सडकमा उत्रिएर आन्दोलन गर्यो। त्यस्तै छिमेकमा भारतले आफ्नो संसद् भवनमा आदिम भारतको नक्सा भनेर हालको नेपालको भूभाग पनि समेटेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला समेत जलाइएको थियो ।
त्यसैगरी यसैबर्ष नेपालको लागि अर्को दुखद घटनाको रुपमा प्यालेस्टाइनी विद्रोही समूह हमासको ७ अक्टोबरमा इजरायलमाथि भएको आक्रमणमा १० नेपालीले मृत्यु भयो । त्यस समयमा अपहरणमा परेका भनिएका विपिन जोशी अझै पनि बेपत्ता छन् ।
यता रसिया र युक्रेनको मारमा नेपाली पनि परे । अहिलेसम्म सरकारी तथ्याङ्कमा ३३ जनाको मृत्यु भएको भनिएको छ तर खोजी र उद्धारका लागि भनेर २ सयभन्दा बढीको निवेदन परराष्ट्र मन्त्रालयमा परेको छ ।
लामो समय संसदमा नेतृत्वदायी भुमिका निर्वाह गरेका पुर्वसभामुख सुवास नेम्वाङको हृदयघातका कारण निधन यसैबर्ष भयो । यता प्रधानमन्त्रीपत्नी सिता दाहालको निधन यसैबर्ष भयो । यता भजनशिरोमणी भक्तराज आचार्यको निधन पनि यसैबर्ष भयो ।
खेलकुद क्षेत्रमा क्रिकेटले नयाँ उत्साह सिर्जना गर्यो क्रिकेटमा पनि नेपालले यो वर्ष जादु नै देखायो । पहिलो पटक एसिया कप खेल्नदेखि टी– २० विश्वकपसम्म नेपाली टिम पुग्यो ।
यसबर्ष खासगरी नेपालमा अन्तराष्ट्रिय राजनितिक नेतृत्व र संघसंस्थताका प्रमुख तथा प्रतिनिधिको भ्रमण पनि चर्चामा रहिरहे । यही वर्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि नेपालको भ्रमण गरे ।