भाद्र २२, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन् ।
जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको स्मरण गरे ।
‘इपीजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।’