जेठ ५, हेटौंडा । वर्षाका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानास्थित बगुवा (बागमती) खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन बगाएर सवारी आवतजावत अवरूद्ध भएपछि सो स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो ।