रामबहादुर बम्जन फेरी जेल चलान

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (३ हप्ता अघि)
  • ७७ पटक पढिएको
रामबहादुर बम्जन फेरी जेल चलान

जेठ १३, काठमाडौं । विवादित धर्मगुरु रामबहादुर बम्जन फेरी जेल चलान भएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको छ ।

यसअघि उच्च अदालत राजविराजको फैसलाले कारागारमुक्त भएका बम्जन सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित भएका उनलाई तत्काल प्राप्त प्रमाणले निर्दोष मान्न नसकिने भन्दै थुनामा पठाउने आदेश भएको हो ।

गत फागुन ५ गते बम्जनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँबराबरको अवैध कारोबार गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो । त्यतिखेर उनी बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ‘छ’ अनुसारको कसुर गरेको ठहर गरेको थियो । जिल्ला अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको थियो । पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत राजविराजमा पुनरावेदन निवेदन दिएका थिए । उच्चले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गएको चैत ६ गते सफाइ दिएको थियो । उच्चका न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले फैसलामा हदम्याद नघाएर ल्याएको अभियोगपत्रको विषयवस्तुमा प्रवेश गर्न आवश्यक नै नभएको उल्लेख गरिएको छ ।

उच्चको उक्त फैसलाबाट कारागारमुक्त भएका उनी हाल  मलंगवा कारागारमा रहेका छन् । बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो ।

२०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो । उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँबराबरको रकम बरामद भएको थियो ।

उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस