जेठ २५, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्ड थप पाँच दिन बन्द हुने भएको छ । नागढुङ्गा–पिप्लामोड खण्डको सडक सुधार तथा स्तरोन्नतिको काम भैरहेकाले सोमबारदेखि दैनिक १० बजेदेखि दिउसो तीन बजेसम्म बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म सवारी आवागमन रोकेर निर्माण कार्य सञ्चालन भइरहेकोमा थप समय आवश्यक भएकाले जेठ २६ गतेदेखि ३० गतेसम्म पुनः सवारीसाधन बन्द गरेर निर्माण कार्य अघि बढाइने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
निर्माण अवधिभर सवारीसाधनहरु नागढुङ्गा चेकपोस्ट (काठमाडौँबाट बाहिरिने) र खानीखोला बजार (नौबिसेबाट काठमाडौँ आउने) क्षेत्रमा रोकिने छन् । रोकिएका सबै सवारीहरू दिउँसो ३ बजेपछि मात्रै आवागमन गर्न पाउने व्यवस्था गरिएको छ ।
यस अवधिमा साना तथा मझौला गाडीहरुका लागि भने सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।