असार ४, काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा निर्माण हुन गइरहेको ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।
सो सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित यो आयोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबद्धित हो ।
आयोजना चाइनिज ठेकेदारमार्फत EPC (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा निर्माण गरिनेछ र दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न पश्चात् उत्पादित विद्युत मनाङको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
यस आयोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ । यसै परियोजनासम्बन्धी विद्युत खरिद–बिक्री सम्झौता (PPA) चिनो हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच २०८२ साल वैशाखमा सम्पन्न भइसकेको छ ।
एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । १४ लाखभन्दा बढी ग्राहक रहेको बैंकले मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, बैंकले भारतको नयाँ दिल्लीसहित अन्य मुलुकहरूमा समेत प्रतिनिधि कार्यालयमार्फत अन्तर्राष्ट्रिय सेवा विस्तार गरेको छ ।