प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १५, आईतबार (९ घण्टा अघि)
  • ५४ पटक पढिएको
प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित गर्ने तयारी

असार १५, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक मध्याह्न सवा १२ बजे बस्ने तय भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

मन्त्री गुप्ताले नै ‘संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रियसभा बैठकमा विनियोजक विधेयक, २०८२ अन्तर्गत केही मन्त्रालयका शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

विनियोजक शीर्षकमाथि छलफल गरिनेमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालय छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस