मंसिर १२, काठमाडौं । मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलन गर्दै शनिबार हुने उपनिर्वाचनका आवश्यक निर्वाचन सामग्री, कर्मचारी खटनपटन, सुरक्षा प्रबन्धसहितका सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
आयोगका मतदानका लागि मतपत्रलगायत निर्वाचनका सामग्री सम्बन्धित जिल्ला र मतदान केन्द्रमा पुगिसकेका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन तयारी पूरा भएको उल्लेख गर्दै मतदानका लागि तयार भएर बस्न आग्रह गरे।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि रिक्त ५२ पदहरूमा शनिवार उपनिर्वाचन हुँदै छ।
बुधबार रातिबाट मौन अवधि सुरु भएको छ। आयोगले यस अवधिमा वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको हो।
‘मौन अवधिमा आचार संहिताको पूर्णपालना गरी निर्धक्क रूपमा मताधिकार प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्पूर्ण सरोकारवालाहरूसँग अनुरोध गर्दछौं,’ आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘यस अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दबाब वा प्रभावमा पारेर मतदातालाई आतंकित पार्ने, मतदान केन्द्र जानबाट रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्रबाहिरका व्यक्तिहरु प्रवेश गरी शंकास्पद कार्य गर्ने, तथ्यहीन, गलत र भ्रम फैलाउनेलगायत निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य हुन नदिन सम्पूर्ण उम्मेदवार, राजनीतिकर्मी, पत्रकार, कर्मचारीलगायत आमनागरिकमा अपिल गर्दछौं।’ नागरिक दैनिकमा खबर छ ।