मंसिर १६,धरान । यतिबेला पुर्वमा सुर्य अस्तायो, समय बदलियो भन्दै नेपाली कांग्रेसका नेता,कार्यकर्ता खुसी भइरहेका छन । उपनिर्वाचनमा धरान उपमहानगरपालिकाबाट नेपाली कांग्रेस उम्मेद्धार तिलक राईले नेकपाका उम्मेद्धार प्रकाश राईलाई पराजित गरिसकेका छन । हँसमुख राईले दौरा सुरुवालमा सजिएर सोमबार नै मुख्य निर्वाचन अधिकृतबाट सपथ खाइसकेका छन् । नेपाली कांग्रेसले धरानमा इतिहासकै पहिलोचोटि विजयोत्सब मनाएको छ ।
धरान खासगरी कम्युनिष्टको गढ मानिने हुँदा नेकपा चुनाव जित्नेमा ढुक्क थियो । तर परिस्थिती उल्टिएको छ । चुनावी नतिजा कांग्रेसको पोल्टामा गएको छ । यो उपनिर्वाचनमा धरानी चुनावमा कांग्रेसको जित कसरी सम्भव भयो त ? सबैले यसको उत्तर खोजिरहेका छन । कम्युनिष्ट किल्ला भत्काउने रणनिती कसले अख्तियार गर्यो ? यो प्रश्न खोजिरहेका छन ।
धरानी चुनावको जितमा डा. शेखर कोइराला मियो बनेपछि…..
तत्कालिन समयमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग डा. शेखर कोइरालाको सामिप्यता थियो । जुन प्रतिष्ठान धरानमा अवस्थित छ । उनी उतिबेला प्रतिष्ठानको भिसी भइसकेका थिए । धरानसंग डा. कोइरालाको विगत निकै घनिष्ट र मित्रवत थियो । अन्तत उप–निर्वाचनमा धरानवासीले कोइरालाको कुरा पत्याए । उनी धरानमा चार दिन अड्डा जमाएर बसे तर थोरैले थाहा पाए, कतिलाई थाहा नै भएन । चुनावको ४ दिन उनि कहाँ बसे कसैलाई थाहा भएन् । जसरी पनी जित्नैपर्ने उनको योजना थियो । धरान उपमहानगरमा कांग्रेसले टिकट दिँदै गर्दा केही असन्तुष्टि नभएका होइनन् तर अलि अलि मन मुटाव भएपनि कोईरालाले मिलाए । खासगरी कोइरालाले (विपक्षी) पुर्वएमाले र पुर्वमाओवादीको असन्तुष्टी स्वरलाई मिलाउन हरदम प्रयत्न गरे । स्रोतका अनुसार नेकपाका असन्तुष्ट पक्षसंग उनले निरन्तर चार दिनसम्म छलफल गरिरहे । अन्य साना राजनितिक दलसंग समेत उनले वार्ता गर्न भ्याए ।
स्रोतको दावी छ–धरान त्यस्तो ठाँउ हो जहाँ डा.शेखर उभिंदा छुट्टै महत्व राख्छ। डा शेखरलाई धरानका एक तहका जनताले पार्टी भन्दा माथी राखेर हेर्ने गर्छन् । खासगरी दुईवटै उम्मेद्धार जनजाती समुदायबाट भएका कारण पनि मत विभाजन भयो भन्ने तर्क एकथरीले गरिरहेका छन । धरानबासी कांग्रेसी समेत यो सत्ता उल्टिएको पत्याईरहेका छैनन् । तर यथार्थ नतिजाले देखाइसकेको छ । डा. कोईराला उपनिर्वाचनको क्रममा सबैभन्दा पहिले झापा पुगे । त्यसपछि उनि इलाम,पाँचथर,सुनसरीका चुनावी भेला सकाएर काठमाडौँ फर्किए । त्यसको भोलीपल्टै कोइराला पोखरा लागे ।
पोखरा हुँदै उनि भैरहवाका केही चुनावी कार्यक्रममा सहभागी भएर दाङ हानिए । दाङमा पनि उनिले केही चुनावी सभालाई सम्बोधन गरे । दाङबाट उनि काठमाडौँ आए लगतै धरान दौडिए । धरानमा उनको साता ब्यापी बसाई निकै गोप्य चुनावी रणनिती बनाउन केन्द्रित रह्यो । चार दिनसम्म उनि कहाँ बस्थे कसलाई भेट्थे कसैलाई थाहा भएन् । साँच्चै भन्ने हो भने कोइरालाले धरान उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको लडाँई बनाएका थिए । अन्य कांग्रेसका नेताहरु समेत नेता कोइरालाको भरोसामा थिए । उनिहरुले चुनाव जित्न सकिन्छ भन्ने आशालाई यर्थाथमा परिणत गराउन कोइराला सफल भए ।
०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको हो ।
को हुन् तिलक ?
मेयरमा निर्वाचित तिलक राई कांग्रेसले ठूला वा चर्चित नेता होइनन् । उनी सामान्य र सरल व्यक्ति हुन् । तर, जनताको विश्वास जित्न ठूलो नेता चाँहिदैन, जनतामा भिजेको नेता चाहिन्छ भन्ने कुरा तिलकले सावित गरिदिए ।
कांग्रेस नेता तिलक राई भोजपुरमा जिन्मएका हुन् । पूर्वगोर्खा सैनिक पृष्ठभूमिका उनले धरानमै आफ्नो वाल्यकाल बिताए । शिक्षा दीक्षा पनि यहीँ लिए । तथापि उनले एसएसलसी उत्तीर्ण गरेपछि आफ्नो औपचारिक अध्ययन धेरै माथिसम्म लैजान चाहेनन् ।
सुनसरीका कतिपय कांग्रेसकै नेताहरुको तर्कलाई आधार मान्ने हो भने धरानमा तिलक राईको व्यक्तित्वले मात्र यो जित हात लागेको होइन, सत्तारुढ नेकपाप्रतिको धराने जनताको वितृष्णाको समेत प्रतिफल हो तिलक राईको जित । एक स्थानीय नेता त यतिसम्म भन्छन्, ‘धरानमा कांग्रेसले जितेको होइन, नेकपाले हारेको हो ।’