जेठ ७, काठमाडौं । सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दयरा बढाउन माग गरेका छन् । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् । सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताए ।
अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लिकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उनले बताए । प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उनले बताए । प्रदेशमा कोरोनाका विरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उनले बताए । उनले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरे ।
त्यस्तै, सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गरे । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उनले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरे ।