जेठ १५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले भने, “परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ ।” जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था नै गणतन्त्र भएको चर्चा गर्नुहुँदै उनले भने, “संविधान र कानुनमा उल्लिखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।”
शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले साँचो अर्थमा जनता सार्वभौम बनेको दिनका रूपमा गणतन्त्र दिवस इतिहासको महत्वपुर्ण र अविस्मरणीय रहने चर्चा गरे । गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कार्यमा सरकारका गतिविधि केन्द्रित रहेको उनले स्पष्ट पारे । गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली भएकाले महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, “गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन सक्दैन ।” गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुने भए पनि हिंसा र आतङ्कको प्रयोग स्वीकार्य नहुने उनले बताए ।
जुनसुकै शासन प्रणाली संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने चर्चा गर्दै उनले सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्दै जनताको सेवा र विकास निर्माण अगाडि बढेको बताए। कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित हुने बताउदै प्रधानमन्त्री ओलीले भने, “इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन ।” कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा नेपालीले जुधिरहेको चर्चा गर्नुहुँदै उनले कोरोनाको चुनौतीलाई परास्त गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे।