असार ३०, काठमाण्डौ । इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । युनाइटेड साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।
यो बराबरीले म्यानचेस्टर युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै शीर्ष तीनमा उक्लने अवसर गुमाउदा अर्को सिजनको लागि च्याम्पियन्स लिग खेल्ने सम्भावनामा समेत धक्का लागेको छ । बराबरीपछि लेस्टरसँग समान ५९ अंक भएपनि युनाइटेड गोल अन्तरमा पछि पर्दै पाँचौ स्थानमा यथावत छ । घरेलु मैदान ओल्डट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेड स्टुआर्ट आम्सट्रोङको गोलबाट खेलको १२औं मिनेटमा पछि परेको थियो । तर, युनाइटेडले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि युनाइटेडले खेलामा २–१ को अग्रता बनाएको थियो ।