असोज १६, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेट संघ क्यानलाई क्रिकेट खेलाडीहरुको वर्गीकरणको स्पष्टिकरण ७ दिन भित्र पेश गर्न निर्देशन दिइएको छ । राखेपले खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारणसहित राखेपमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । राखेपले बिहीबार क्यानका अध्यक्ष र सचिवलाई स्पष्टिकरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । यही असोज ६ गते चितवनमा भएको साधारण सभाले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण सार्वजनिक गरेको थियो ।
तर, उक्त वर्गीकरण उचित नभएको भन्दै चौतर्फी बिबाद भएपछि क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष दुबै टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग पुनः आवश्यक छलफल गर्न बिहीबार निर्देशन दिएको थियो । खेलाडी र प्रशिक्षकसँग छलफल गरि सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न क्यानले समितिलाई निर्देशन दिएको थियो । यसअघि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा संघका केन्द्रीय सदस्यहरु अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी खेलाडी वर्गीकरण निर्धारण समिति गठन गरिएको थियो । क्यानको वर्गीकरण समितिलाई पुनः छलफल गर्न दिएको निर्देशनलाई राखेपले स्वागत गरेको जनाएको छ ।