असोज २५,काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै उनले समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै कँडेलले कोभिड–१९ ले प्राथमिकताका क्षेत्र परिवर्तन गरेको बताए ।
स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उनले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताए ।
साइप्रसका पूर्वअर्थमन्त्री डा। मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताए । ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताए । जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन् । तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ,’ उनले भने ।
एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्रा.डा. शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए । १७ वटा लक्ष्यमध्ये धेरैजसो पूरा भएको उनले बताए । उनका अनुसार अनलाइन व्यापार, ई–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ ।
कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडालगायतले कोभिड–१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिए ।