कार्तिक २५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मगंलबार दिउँसो चार बजे पार्टी मुख्यालयमा औपचारिक सचिवालय बैठक डाकेका छन् ।
तीन दिन कुर्दा पनि अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली औपचारिक बैठकका लागि तयार नभएपछि प्रचण्ड–नेपाल समूहले आफैले औपचारिक बैठकका लागि समय निर्धारण गरेको हो।
यसअघि ओलीले प्रचण्डलाई सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि धुम्बाराहीमा प्रचण्ड–नेपाल समूहको अनौपचारिक रुपमा सचिवालय बैठक बसेको थियो।
उक्त बैठकबारे सचिवालयका ९ जना सदस्यहरुलाई जानकारी गराए पनि ओली पक्षका तीन जना सदस्यहरु अनुपस्थित भएका थिए।
त्यसको भोलीपल्ट शनिबार प्रचण्ड–नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई बैठकका लागि सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएको थियो।
तर ओलीले त्यसैदिन आफू पनि कार्यकारी अध्यक्ष भएको र गुटीय बैठकले गरेको निर्णय र अनुरोधका आधारमा केन्द्रीय सचिवालय बैठकको मिती नतोक्ने अडान सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए।
त्यसयता पनि ओली बैठकका लागि सहमत हुने अपेक्षासहित प्रचण्ड(नेपाल समूहले प्रतिक्षा गरेपनि त्यसमा ओली तयार हुने सम्भावना कम देखेपछि आज धुम्बाराहीमा बैठक बोलाएको हो।
विवाद चर्किँदै गएकाले पार्टी एकता बचाउने गरी निर्णय लिनुपर्ने बाध्यता आफूहरु रहेको यो समूहका सदस्यहरुले बताउँदै आएका छन्।
खासगरी प्रचण्ड आफ्नो अपमान हुनेगरी बोल्न थालेको र पार्टी स्थायी कमिटी निर्णय उल्लंघन गरेकाले उनकाविरुद्ध चाल्ने कदममा संवेदनशील रहेको बुझिन्छ।