फागुण ७, काठमाडौ । नेकपाको दाहाल नेपाल समूहले आउने जस्तोसुकै परिस्थितिसँग लड्न तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको समूहको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रमलाई सफल पार्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संगाठनिक एकीकरणको काम केहि दिनभित्रै सक्ने बताएको प्रवक्ता श्रेष्ठले बताए । राजनीतिक परिवर्तनलाई जोगाउन नेकपा प्रतिवद्ध रहेको उनको भनाइ छ । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसारअगाडि बढेको आरोप लगाउँदै छिटै पतन हुने बताए ।