फागुण ९, काठमाण्डौ । आन्दोलनरत नेकपाका स्थायी समिति सदस्य भीम रावलले चार उदाहरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटगत स्थार्थमा लागेको पुष्टि भएको आरोप लगाएका छन् । विराटनगरमा आफ्नो समूहले आयोजना गरेको प्रदेशस्तरीय सभामा प्रधानमन्त्री ओलीले जनताका पक्षमा फैसला नआए आन्दोलन हुन्छ भनेर चेतावनी दिएपछि नेता रावलले टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको आपराधीकरण गर्नु र आफैं कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।