मंसिर २९,काठमाडौँ । लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।
‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो,’ उनले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’ उनका अनुसार एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्छ, तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम छ ।
लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।
१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताए ।
ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले व्यवसायीले मात्र नभई किसानले समेत उचित मूल्य नपाएको बताउँछन् । अहिले कृषकबाट जिउँदो कुखुरा १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा उठाएर उपभोक्तासम्म पुग्दा २६० रुपैयाँ लिने गरिएको सचिव लामिछाने बताउँछन् ।
दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ रुपैयाँ पर्दछ । लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको लामिछानेले बताए ।
नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी छ । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा छ ।
चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा र मासु उत्पादकहरुको अवस्था पनि दयनीय बन्दै गएको व्यवसायीहरु बताउँछन् ।