१० प्रतिशत ब्याजदरसहित वैदेशिक रोजगारीमा रहेका कामदारका लागि वैदेशिक रोजगार बचतपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुष १, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र ल्याएको छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीलगायत अन्य काम विशेषले विदेशमा रहेका नेपाली नागरिक र उनीहरूको परिवारलाई लक्षित गरी १० प्रतिशत ब्याजमा वैदेशिक रोजगार बचतपत्र ल्याएको हो ।

२० करोड रुपैयाँको यस बचतपत्र वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरी मात्र)का नाममा खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकले मंगलबार (आज)बाट यो बचतपत्र बिक्री गर्नेछ । राष्ट्र बैंकले मंगलबारदेखि २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ को बिक्री खुलाउन लागेको हो ।

विशेषगरी विदेशमा कमाएको रेमिट्यान्स रकम आफ्नो जन्मथलोमा ल्याएर बचत गरी उत्पादनमूलक काममा प्रयोग गर्ने उद्देश्यसाथ ल्याइएको यस बचतपत्रमा सहभागी हुनेहरूले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन् ।

बचतपत्र खरिद गर्नेहरूले सहभागी भएको हरेक ६/६ महिनामा ब्याज भुक्तानी पाउने राष्ट्र बैंकले जनाएको छ । यसैगरी, यस बचतपत्रको आगामी ५ वर्षमा साँवा भुक्तानी हुनेछ । राष्ट्र बैंकले बचतपत्र खरिदकर्ताका लागि चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने सुविधा रहेको पनि जनाएको छ ।

अहिले यस बचतपत्र बिक्री गर्न राष्ट्र बैंकले विभिन्न १० वटा बैंक एवं वित्तीय संस्थालाई एजेन्ट तोकेको छ । जसमा सिटिजन्स बैंक इन्टरनेसनल, नबिल बैंक, माछापुच्छे« बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेन्चुरी कमर्सियल बैंक र सेवा रेमिट प्रालिलगायत छन् । यी बैंक तथा वित्तीय संस्थाबाट बचतपत्र खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले विदेशमा कमाएको रेमिट्यान्स रकम आफ्नो जन्मभूमिमा ल्याएर बचत गरी उत्पादनमूलक काममा प्रयोग गर्ने उद्देश्यसाथ ल्याइएको यस बचतपत्रमा जतिसक्दो छिटो सहभागी भई लाभ लिन आह्वान गरिएको बताए । उनले यसअघि जारी गरिएको बचतपत्रको आकर्षण र प्रभावकै आधारमा अहिले कुल २० करोड रुपैयाँबराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८१’ को बिक्री खुलाउन लागिएको जानकारी दिए । उनले यसमा राष्ट्र बैंकले अपेक्षा गरेअनुरूपको सम्पूर्ण बचतपत्र बिक्री हुने अनुमान गरिएको बताए । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस