फाल्गुण २, काठमाण्डौ । केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ ।
त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजारमा अहिले औसतमा दैनिक ६०÷६५ टन प्याज भित्रिएको छ । उपत्यकाको बजारमा दैनिक १२० टन प्याज माग छ । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा प्याजको आयात बढेसँगै क्रमशः भाउ सस्तो भएको जानकारी दिनुभयो । उहाँले बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमी र क्रमशः अझै घट्ने बताए ।
उपत्यकाको बजारमा खपत हुने प्याजको परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँ बराबरको प्याज आयात भएको थियो ।
काठमाडौँ उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य अत्यधिक बढेको थियो । भारतबाट आयात गर्ने गरिएको छ, भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो ।
लसुनको कारोबार ठप्प
चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ । काठमाडौँ उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकोमा नोबेल कोरोना भाइसर फैलिने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ २२ गतेदेखि लसुनको कारोबार ठप्प भएको छ । तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ व्यापारीहरूले लसुन नै भित्रिन छोडेको र कारोबार नभएपछि तरकारीको नियमित कारोबार सूचीबाट समेत हटाइएको जानकारी दिए ।