आजदेखि कर्णालीबाटै श्रम स्वीकृति, काठमाडौं धाउनु नपर्ने

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ माघ ६, आईतबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कर्णालीवासीले श्रम स्वीकृतिका लागि हजारौं रुपैयाँ खर्चेर काठमाडौं आउनुपर्ने बाध्यता आजदेखि अन्त्य हुने भएको छ।

आज (आइतबार)देखि सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनिश्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको हो।

कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कामकारबाही ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय गरेको हो।

सरकारले पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट गत पुस १५ गते उक्त सेवा सुरु गरेको हो।

त्यस्तै पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रवाह भइरहेको छ।

अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा छिट्टै प्रवाह गरिने संयोजक खनालले बताएका छन्।

प्रदेशबाटै श्रम स्वीकृति लिन पाउने व्यवस्था भएपछि त्यसका लागि काठमाडौं धाउनुपर्ने झन्झटको अन्त्य भएको छ।

अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठडौंको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो।

यसअघि दैनिक एक हजार युवा श्रम स्वीकृतिका लागि श्रम कार्यालय पुग्ने गरेका थिए। सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत देखिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस