राष्ट्रियसभामा कांग्रेसको आधा सिट घट्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २७, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । राष्ट्रियसभाको एक तिहाइ सदस्य चयनका लागि आगामी माघ ९ गते निर्वाचन हुने भएको छ।

निर्वाचक मण्डलमार्फत् हुने निर्वाचनले राष्ट्रिय सभामा १९ नयाँ सदस्य चयन गर्नेछ।

२०७५ साल असार ४ गते गोलाप्रथाद्वारा कार्यकाल तय गर्ने क्रममा १९ जनाले दुई वर्षे कार्यकालको गोला तानेका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रदेशगत रूपमा ५६ सांसद छन् भने ३ जना राष्ट्रपतिले मनोनयन गरेकी छिन्।

एकल संक्रमणीय निर्वाचन प्रणालीका कारण आगामी फागुन २१ गतेबाट राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सिट संख्या घट्ने छ।

प्रदेश २ मा गठबन्धन निर्माण नगरे राष्ट्रिय जनता पार्टी प्रतिनिधित्वविहीन हुनेछ। राजपाका २ र समाजवादी पार्टीका राष्ट्रियसभामा २ सांसद छन्।

राष्ट्रिय सभामा नेकपाका ३९ सांसद छन्। जसमध्ये ८ जनाको कार्यकाल समाप्त हुँदैछ। त्यस्तै, कांग्रेस १३ जनामध्ये ७ जनाको कार्यकाल सकिँदैछ।

राजपा र समाजवादी पार्टीसँग गठबन्धन गरेको अवस्थामा कांग्रेसले प्रदेश २ बाट एक सिट जित्ने सम्भावना कायमै छ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट तीन क्लष्टरमा ८ जना निर्वाचित भएका थिए। हाल प्रत्येक प्रदेशबाट ३ महिला, ३ पुरूष (संविधानमा अन्य भनिएको) , १ दलित महिला तथा अर्का १ अल्पसंख्यक/अपांग राष्ट्रिय सभामा छन्।

गोलाप्रथा पनि क्लष्टर अनुसार गरिएका कारण यसपटक प्रत्येक क्लष्टरमा एक सिट रिक्त हुनेछ।

प्रदेशबाट आएका यस्ता तीनमध्ये एकको कार्यकाल २ वर्ष दोस्रोको ४ वर्ष र तेस्रोको ६ वर्ष तय भएको थियो।

रिक्त हुने पदका निर्वाचन प्रणाली एकल संक्रमणीय निर्वाचन प्रणाली हुनेछ। जसमा प्रदेश सभाका सदस्य र प्रदेशभित्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस