नेकपाको स्थायी समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर २९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २९,काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आइतबार बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो ।

स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ । बिहान ९ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकपछि दिउँसो १ बजे स्थायी कमिटि बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत मंसिर २३ गते बसेको सचिवालय बैठकले मंसिर २७ गते अर्को बैठक बसेर स्थायी कमिटी बैठकक एजेण्डा तय गर्ने, मंसिर १४ मा भएको उपनिर्वाचनको समीक्षा गर्ने, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने निर्णय गरेको थियो । तर विभिन्न कारण देखाउँदै २७ गते बस्ने बैठक २८ गतेलाई स्थगित गरिएको थियो । तर, २८ गते पनि सचिवालय बैठक नबसेपछि उक्त बैठक पुनः २९ गते बिहान बस्नेगरी स्थगित भएको थियो ।

झण्डै एक वर्षपछि बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्ड विगत ५ दिनदेखि प्रतिवेदन तयार गर्न व्यस्त छन् । त्यसका लागि उनले अर्का अध्यक्ष केपी ओली तथा अन्य नेताहरुसँग परामर्श समेत गरेका थिए । नेताहरुसँगको छुट्टाछुट्टै परामर्शपछि प्रचण्डले तयार पारेको प्रतिवेदनमा पार्टीलाई गतिशील बनाउन ६ महिने जनपरिचालन लगायतका योजना समेटेको बताइएको छ । अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यस्तै, बैठकले सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्नेछ । बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णयलाई पनि अनुमोदन गर्नेछ । स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस