मंसिर ३०,काठमाडौँ । नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको पहिलो ब्याचले भारतको गुजरातको गान्धीनगर स्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (ITEC) मा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा आइतबारबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।
यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जनाको दोस्रो ब्याचले आगामी पौष २६ गते देखि माघ २ गतेसम्म सोही प्रशिक्षण लिने कार्यक्रम निर्धारण गरिएको छ ।
नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने बताइएको छ ।
मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउनेछ ।
फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम अन्तर्गत रहेको छ ।