कांग्रेसको १४ औं महाधिवेशन : अर्को वर्षको फागुनमा गर्न देउवा–पौडेलको सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन गठित कार्यदलले चारवटा मुद्दामध्ये तीनवटामा सहमति जुटाएको र नेपाल विद्यार्थी संघका विषयमा बुधबार टुङ्गोमा पु¥याउने भएको छ । दुवै पक्षबाट गठित कार्य दलको मंगलबार साँझ कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकले यस्तो सहमति जुटाएको हो । बैठकपछि  कुरा गर्दै उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य हृदयराम थानीले छलफल सकारात्मक रुपमा अगाडि बढेको बताए ।

उपसभापति निधिले सकारात्मक कुरा भएको छ, नेविसंघको विषयमा बुधबार बिहान बसेर टुंगोमा पुग्ने र केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए । बैठकमा भएको सैद्धान्तिक सहमति अनुसार, कांग्रेस केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी फागुनबाट लागू हुने गरी एक वर्ष थप्ने र सोही अनुसारको कार्यतालिका बनाएर १४ औं महाधिवेशन गर्ने टुंगो लागेको छ ।

आगामी २०७७ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छ भने सभापति शेरबहादुर देउवा पक्षबाट फागुनमा गर्ने प्रस्ताव आएको छ । कांग्रेसको विधान अनुसार वडा तहदेखि केन्द्रसम्मको अधिवेशन गराउन सात आठ महिना लाग्ने छ । संस्थापन पक्षको प्रस्ताव अनुसार २०७७ फागुुनको पहिलो साता १४ औं महाधिवेशन गर्ने छ ।

चाक्सीबारीको बैठकमा कार्यतालिका निर्माण गर्ने, विभागहरु गठन गर्ने र नेपाल तरुण दलको अधिवेशन तयारी समिति गठन गर्ने विषयमा दुवै पक्षबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल विद्यार्थी संघका विषयमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री मात्रै पदाधिकारी राखेर अधिवेशन तयारी समिति गठन गर्ने प्रस्ताव पौडेल समूहको छ भने चारजना महामन्त्री बनाउने सभापति देउवा पक्षको अडान छ । यही विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी नेताहरुले दिएका छन ।

चाक्सीबारी बैठक सहमति नजिक पुगेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार दिनको १ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकअघि केन्द्रीय कार्यालयमा छलफल हुने छ भने । बुधबार केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सभापति देउवालाई उपसभापति निधि र वरिष्ठ नेता पौडेललाई पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीले जानकारी गराउने र निष्कर्षमा पुग्ने तयारी छ । मङ्गलबार नै चाक्सीबारीमा नै नेता सिंह र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । त्यसको लगत्तै दुवै पक्षको कार्यदल बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस