जेठ १९, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका साथ दायरा फराकिलो पारी नियन्त्रणका उपाय अपनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले कोरोना सङ्क्रमणको दर वृद्धि भइरहेका अवस्थामा परीक्षण र व्यवस्थापनमा उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद अमृतादेवी अग्रहरीले तराइका विभिन्न जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै अझै पनि सरकारले आइसोलेसन वार्डको उचित व्यवस्था गर्न नसकेको भनी चिन्ता व्यक्त गरे । उनले खाने, बस्ने स्थानका साथै शौचालयको पनि उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृता थापाले कोरोना सङ्क्रमणबाट सम्भावित क्षति रोक्न आवश्यक कार्ययोजनासहित अघि बढ्न सरकारको ध्यानाकर्षण गराए । सांसद उमाकान्त चौधरीले अव्यवस्थित र मापदण्ड विपरीतका संरचनाका कारण कोरोना उत्पादन गर्ने क्षेत्रके रुपमा क्वारेन्टिन देखिएकाले राहत, उद्धार र परीक्षणमा ध्यान नदिने हो भने कोरोनाका साथै रोक र भोकले भयावह स्थिति आउन सक्ने देखिएको बताए ।
सांसद उमा रेग्मीले कोभिड–१९ को सङ्क्रमण ह्वात्तै बढ्दै गएको र उपचारका लागि अस्पताल पुगेका गर्भवतीले पिसिआर रिपोर्ट नल्याएसम्म उपचार गराउन नसक्ने अवस्था सिर्जना भएकामा दुख प्रकट गरे । सबै अस्पतालबाट नियमित सेवा उपलव्ध गराउने व्यवस्था मिलाउन उनले सभामुखमार्फत सरकारलाई आग्रह गरे । सांसद डा अमरेशकुमार सिंहले विपद् व्यवस्थापनमा सरकारले नेपाली सेना परिचालन गर्न खोज्नु संविधानविरुद्ध भएको भनी आपत्ति जनाए ।