जेठ २५,काठमाडौँ । करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने विषयमा सरकार अलमलमा परेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समिति र यसैको सचिवालयका रुपमा काम गरिरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परम्परमा बाझिने प्रस्ताव अघि सारेपछि लकडाउन कहिलेबाट खुकुलो हुन्छ भन्ने अलमल बढेको हो ।
उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका छन् । त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्ताव छ ।
असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ । असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थाहरुसमेत खोल्ने पोखरेलको प्रस्तावमा उल्लेख छ ।
पोखरेलको प्रस्तावबारे छलफल भए पनि शनिबार कुनै निर्णय हुन सकेन । समितिमा एक सदस्यका अनुसार उच्चस्तरीय समितिमा ‘गोप्य’ भन्दै मन्त्रीहरुलाई दिइएको योजनाबारे सदस्यहरुले मौखिक सुझाव दिएका छन् । र, भोलिसम्म लिखितरुपमा सुझाव दिन भनिएको छ ।
गत साता लकडाउन थप गर्न बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई लिएको थियो । तर, जेठ ३२ सम्म तोकिएको लकडाउन सकिन लाग्दा पनि समितिले मोडालिटीलाई अन्तिम रुप दिन सकेको छैन ।
सीसीएमसीको बेग्लै प्रस्ताव
उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी तयार पार्न नसकिरहेकै बेला नेपाली सेनाको समेत सक्रिय सहभागिता रहेको सीसीएमसीले भने असारको सुरुवाती दुई साता लकडाउन खुकुलो बनाउन नहुने बेग्लै प्रस्ताव तयार पारेको छ ।
बन्दाबन्दी खुकुलो बनाउँदा कोरोना संक्रमण अझै बढ्ने र जनमासनसमा त्रासको वातावरण बन्ने उसको निष्कर्ष छ । उसले भनेको छ, बढ्दो संक्रमण र समुदाय स्तरमा समेत संक्रमण फैलिएकाले खुकुलो डाउनमा जाँदा कुनै पनि बेला भयावह स्थिति सिर्जना हुनसक्छ ।’
प्राप्त मस्यौदा अनुसार सीसीएमसीले लकडाउन खुकुलो गर्ने पाँच तह बनाएको छ । जेठ ३२ सम्म कायम रहेको बन्दीबन्दी सकिएको दुई सातासम्म पहिलो चरण लागू गर्ने उसको प्रस्ताव छ । यो चरणमा सुरक्षा उपाय अपनाएर आन्तरिक सवारी उडान आंशिक रुपमा खोल्न सकिने उल्लेख छ । यसबाहेक अरु बन्दाबन्दी अहिलेकै स्वरुपको लागू हुनेछ ।
असार तेस्रो र चौथो साता दोस्रो चरण लागू हुनेछ । यसमा भने लकडाउन केही खुकुलो हुनेछ । सीसीएमसीको प्रस्ताव अनुसार यो चरणमा जिम, मर्निङ वाक, सरकारी तथा निजी कार्यालय, साना तथा घरेलु उद्योग, वाहृय उडान आंशिक रुपमा खुला गर्न सकिने प्रस्ताव छ ।
सार्वजनिक यातायात तेस्रो चरणमा मात्र खुल्ने सीसीएमसीको प्रस्ताव छ । यो चरणमा ५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने, विद्यालयहरुमा भर्ना प्रक्रिया सुरु गर्न दिने र होम डेलिभरी गर्ने गरी होटल रेष्टुँरा खोल्ने प्रस्तावमा उल्लेख छ ।
ईश्वर पोखरेलको नेतृत्वमा समितिले तयार पारेको प्रस्तावमा भने जेठ २५ देखि नै लकडाउन खुकुलो पार्ने, जिल्लाभित्र आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आधा यात्रुहरु राखेर हवाइ उडान सञ्चालन गर्ने अनि असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने भनिएको हो ।
-अनलाइनखबरको सहयोगमा