जेठ ३१, काठमाण्डौ । नेपालको नयाँ नक्सालाई निशान छापमा प्रतिबिम्बित गर्ने गरी प्रतिनिधिसभाले आज संविधान संशोधनको निर्णय लिने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलहरुले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै निशाना छाप प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित गर्ने निश्चितप्रायः छ ।शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
दफाबार छलफलपछि उनीमार्फत नै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिनेछ । लिम्पियाधुरा, कुटी, गुन्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।
यसैगरी, नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् । २७ जेठको प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै समाजवादीका सांसदहरूले विधेयकको पक्षमा पार्टीले मतदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।