कार्तिक ३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेका अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्दै पुनः अर्को दिन बस्ने गरी सहमति गरेको नेकपा स्रोतले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारूढ नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको हो । कर्णाली प्रदेश सरकारमा विवाद बढेपछि अध्यक्षद्वय ओली र दाहालले सो प्रदेशका मुख्यमन्त्री, पार्टी पदाधिकारी र सांसदलाई काठमाडौंमा बोलाएर छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।