कार्तिक २८, काठमाण्डौ । आगामी बैठकको एजेण्डा तय गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरेको हो । आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ ।
यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरूले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर बैठक राख्न लिखित पत्र बुझाएका थिए। तर प्रधानमन्त्री ओलीले तत्कालै बैठक नराख्ने भन्दै विधान अनुसार जाने जवाफ दिएका थिए । कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले २७ गतेसम्म पनि प्रधानमन्त्री ओलीले बैठक नबोलाएमा आफूहरूले नै बैठक राख्ने चेतावनी दिएका थिए । सचिवालय बैठक राखेर स्थायी कमिटी बैठक बोलाउने उनीहरूको तयारी थियो ।