कार्तिक ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए ।
सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ भने । प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गरेका छन् ।
उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिङ्गो राष्ट्रका साझा पुँजीका रूपमा अङ्कित रहेको उल्लेख गरे । शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाउनुभएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ ।