मंसिर ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन् ।
उनले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए । तर पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको मन्त्री ढकालको भनाई थियो । अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले बताए ।