मंसिर ६, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चल्ने दुई आधार भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले दिएका दुई आधार विचार राजनीति र विधि पद्धति । ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार राजनीति । र दोस्रो विधि पद्धति’, प्रचण्डले लेखेका छन् । प्रचण्डले सन्दर्भ नखुलाए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ। पछिल्ला केही हप्ता नेकपाभित्र दुई पक्षबीच विवाद रहँदै आएको छ । पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ ।
यसैक्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताए । उनले भने, ‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ ।