माघ १६, नुवाकोट । नुवाकोटमा नेकपा ओली समूह जिल्ला कमिटीको विस्तारित बैठकले बाग्मती प्रदेशका सांसद बद्री मैनालीको अध्यक्षतामा जिल्ला कमिटी पुनः गठन गरेको छ । मैनाली तत्कालीन नेकपा एमालेमा जिल्ला उपाध्यक्ष रहेका थिए । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु केशव पाण्डे, रामशरण प्याकूरेल, वृन्दा ढुङ्गाना, ठाकुर गजुरेल, विजय लोप्चन र बाग्मती प्रदेशका सचिव खेमप्रसाद लोहनीलगायतको उपस्थितिमा भएको बैठकले अध्यक्ष हीरानाथ खतिवडा र नारायणप्रसाद खतिवडाले प्रभावकारीरुपमा जिम्मेवारी निर्वाह नगरेको जनाउँदै उनीहरुलाई जिम्मेवारीमुक्त गरेको जिल्ला सदस्य माधवप्रसाद तिवारीले जानकारी दिए ।
बैठकले साविकको जिल्ला समितमा २७१ सदस्य थप गरी ७०२ कायम गरेको छ भने सचिवको चयन आगामी बैठकले गर्ने जनाइएको छ । बैठकले आर्थिक व्यवस्थाको काम व्यवस्थित गर्न बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ । समितिमा तारकेश्वर गाउँपालिकाका उपप्रमुख रमेश वस्ती उपसंयोजक रहेका छन् । पुनःगठित कमिटीले यही माघ १९ गते बट्टारमा उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलको उपस्थितिमा अगुवा कार्यकर्ता भेला आयोजना गर्नेछ । रासस