फागुण ४, काठमाण्डौ । नेपाली कांग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन नसक्ने उल्लेख गर्दै त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको बताएका छन् ।
थप व्यवस्था आवश्यक भए पनि वृहत्तर विमर्श बिना, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको कांग्रेसको आरोप छ । सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिका जारी गर्न नहुने, नमिल्ने र नपाइने प्रवक्ता शर्माले उल्लेख गरेका छन् ।