साउन २४,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका सबै दोषीलाई कानुन अनुसार कारवाही हुने बताएका छन् । संसदमा उठेका प्रश्नको आज जवाफ दिंदै उनले सबै दोषीलाई कानुनी कारवाहीमा ल्याएर छोड्ने बताएका हुन् ।
उनले यस प्रकरणमा अहिले नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेकोले राज्यको उक्त निकायलाई अनुसन्धान प्रकिया सक्न दिन आग्रह गरे । दुई वा दुईभन्दा बढी देश संलग्न भएको देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नु पर्ने भएकोले यसको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको उनले उल्लेख गरे।
उनले ब्युरोलाई अनुसन्धान गर्न दिन आग्रह गरे । यदि ब्युरोले आपराधिहरुलाई कानुनी दायरामा ल्याउन नसके त्यसपछि संसदले उच्च स्तरिय जांचबुझ समिति बनाउन सकिने उनको आशय थियो । उनले हात जोड्दै ३५ दिन केन्द्रीय अनुसन्धान ब्युरोलाई यस प्रकरणमा अनुसन्धान गर्न दिन पटक पटक आग्रह गरे ।
मन्त्री श्रेष्ठले यस अघिका जांचबुझ समितिको उदाहरण दिदै ति समितिले नतिजा दिन नसकेको उनले स्मरण गराए । यस अघि सुन तस्करी छानबिनको लागि बनाईएका समितिले १ ग्रामपनि सुन पत्ता लगाउन नसकेको उल्लेख गरे । ३३ किलो सुन प्रकरणमा पनि समितिले १ ग्राम पनि सुन पत्ता नलगाएको र त्यस अघि पनि सुन पत्ता लगाउन नसकेको उनले स्मरण गराए । उनले प्लिज प्लिज भन्दै अहिलेलाई केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गर्न दिन आग्रह गरे।
मन्त्री श्रेष्ठको जवाफ पछि पनि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने माग सहित संसदको अवरोध कायम राखेको छ ।