जेठ १२,काठमाडौँ । नेकपा एमालेले जेठ १५ गते आयोजना गरेको देशव्यापी जनप्रदर्शनलाई सफल पार्न नेताहरूको जिम्मेवारी तोकेको छ । यद्यपि एमालेले काठमाडौँलाई बढी प्राथमिकता दिएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको तयारी बैठकमा प्रदर्शनलाई सफल बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँडबारे जानकारी गराइएको छ ।
जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको बैठकमा महासचिव शंकर पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको जानकारी गराएका हुन् । महासचिव पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका जनप्रदर्शनको तयारी गरिएको हो ।पोखरेलका अनुसार काठमाडौँ जिल्लाबाट व्यापक मात्रामा जनमानस परिचालन गर्न लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनेछन् । एमालेमा ठुलो जनधार भएको संगठनको रूपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरूलाई दिइएको छ ।