कार्तिक २३, बाँके । भारतकाे अयोध्या विवादमा शनिबार भारतीय सर्वोच्च अदालतले फैसला सुनाए पनि साँझसम्म नेपालसँगको सीमा नाकामा कडाइ यथावत रहेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालका अनुसार बिहानदेखि सीमामा गरिएको ‘सील’ फैसला आइसके पनि हटेको छैन । प्रहरीले इन्धन बोकेका ४५ ट्यांकर नेपाल भित्रिएको जनाएको छ ।
भारतबाट नेपाल आउन सहज भए पनि नेपालतर्फबाट भारत जान रोक लगाइएको छ । बिरामी र अत्यावश्यक कामका लागि जाने यात्रुलाई भने टिकट हेरेर नेपाल प्रहरीको समन्वयमा भारत प्रवेश गर्न दिइएको छ ।
भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको छ ।
सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दू पक्षले पाउने फैसला गरेसँगै त्यहाँ राम मन्दिर बनाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले तीन महिनाभित्र केन्द्र सरकारले ट्रस्ट बनाएर राम मन्दिर निर्माणको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।
राज्य सरकारसँग मिलेर केन्द्र सरकारले सुन्नी वक्फ बोर्डलाई अयोध्यामै ५ एकड जमिन उपलब्ध गराउन पनि सर्वोच्च अदालतले आदेश दिएको छ ।