मंसिर १९, काकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानीभित्र छन्। ८१३ नम्बरको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ।
उत्तरतर्फका १० वटा सीमा स्तम्भ पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपी जानकारी दिएको छ। सशस्त्रका अनुसार ३ वटा मुख्यसहित ७ वटा सहायक गरी सो क्षेत्रमा १० वटा छन्।
‘हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन र सहायक सातवटा सीमा स्तम्भ महाकाली नदीमा पर्छन्,’ बीओपी ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, ‘ब्रह्मदेवको माथिल्लो भागदेखि भीमदत्त नगरपालिका–११ भुजेलासम्म पाँच वटा मुख्य सीमा स्तम्भ छैनन्।’
सशस्त्र प्रहरीका अनुसार ब्रह्मदेवदेखि माथि उत्तरतर्फ मुख्य सीमा स्तम्भ ८१४, ८१५ र ८१६ पानीभित्र छन्। त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमा स्तम्भ ८११ हराउँदा पटकपटक विवाद हुने गरेको छ।
सीमा स्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ। तर भारतीय पक्षले भने स्तम्भ नेपालतर्फकै भूभागमा भएको दाबी गर्दै आएको छ। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।