माघ २९, काठमाण्डौ । बक्यौता रकम तथा सरकारी अनुदानसमेत नपाएपछि उखु किसानले पुनः आन्दोलनको तयारी गरेका छन्। गत पुसमा भएको सम्झौताअनुसार बक्यौता नपाएपछि किसानले पुनः आन्दोलनको तयारी गरेका हुन् ।
वर्षौँदेखि आफ्नो पसिनाको मूल्य पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यकारी अबस्था झेल्दै आएका उखु किसानहरुले फागुनदेखि आन्दोलन गर्ने नयाँ खाकासमेत तयार गरिसकेका छन् । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र भन्छन्, ‘फागुन ५ गतेसम्म कसको बक्यौता र अनुदान रकम कति पाउन बाँकी छ भनेर हामी तथ्यांक संकलन गर्छौँ, ६ गतेदेखि २२ गतेसम्म हामी एक छाक खाना खाएर उखु बारीमा काम गर्छौँ।’
फागुन २२ गतेदेखि चैत ३ गतेसम्म ‘चलु काठमाडौं भरु काठमाडौं’ अर्थात् ‘काठमाडौं जाऔँ काठमाडौं भरौँ’ भन्ने नाराका साथ प्रचारप्रसार गरिने कार्यक्रम रहेको संरक्षक मिश्रले बताए । चैत ४ गतेदेखि काठमाडौंमा उखु किसानहरुले रिले अनशन सुरु गर्ने संरक्षक मिश्रले जानकारी दिए ।