फाल्गुण १, गोरखा । बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१ लाख ९० हजार रुपियाँ पाएका हुन् । बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका प्रमुख कृष्ण कार्कीका अनुसार अहिलेसम्म गोरखातर्फ २३ हजार ३३१ रोपनीको १४ अर्बभन्दा बढी रकम वितरण भइसकेको छ ।
आरुघाट क्षेत्रको पनि ८५ प्रतिशतभन्दा बढी निवेदन आइसकेको छ। गोरखातर्फ मात्रै एक अर्ब रुपियाँ खातामा गइसकेको छ । धादिङतर्फ मालपोत र नापीमा काम भइरहेकाले केही दिनमा थप रकम पठाउने तयारी भएको कार्कीले बताए । गोरखातर्फ मात्र कुल १४ अर्ब ७९ करोड ७६ लाख ९७ हजार रुपियाँ मुआब्जा वितरण भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म सबैभन्दा धेरै आरुघाटका एक व्यक्तिले नौ करोड मुआब्जा पाएका छन् भने सबैभन्दा कम पाँच÷छ लाख पाउने रहेको आयोजना कार्यालयले जनाएको छ । अब करिब तीन हजार व्यक्तिको १० हजार रोपनी जग्गाको मुआब्जा दिन बाँकी छ, तीमध्ये कतिपयको फिल्डबुकमा नाम भए पनि लालपुर्जा छैन, कार्कीले भने । आयोजना निर्माणका क्रममा गोरखा र धादिङको गरी कुल एक लाख ३० हजार रोपनी डुबानमा पर्छ । त्यसमध्ये ५८ हजार रोपनी व्यक्तिको र बाँकी सरकारी तथा सामुदायिक जग्गा रहेको कार्यालयले जनाएको खबर गोरखापत्र दैनिकमा छ । निवदेन परेका सबै व्यक्तिले यस वर्षभित्र मुआब्जा रकम पाउनुहुन्छ, कार्कीले भने, हामीसँग रकम पनि पर्याप्त छ ।
यसमा कुनै समस्या छैन । गत वर्षदेखि वितरण गर्ने भनिएको घर, गोठ, बोटबिरुवा र फलफूलको मुआब्जा भने अझै टुङ्गोमा पुगेको छैन । उक्त मुआब्जामा ह्रासकट्टी नगराउने आयोजनाको तयारी छ । ह्रासकट्टी गरेर मुआब्जा दिँदा पीडितलाई अन्याय हुन्छ भन्ने आवाज उठेको छ ।