हवाई भाडा घट्यो, असार दोस्रो सातादेखि उडान गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २६, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाण्डौ । करिब तीन महिनादेखि बन्द हवाई सेवा सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरूबीच बन्द हवाई सेवा सुचारु गर्ने विषयमा छलफल भएको थियो । छलफलपछि असार दोस्रो सातापछि हिमाली पहाडी क्षेत्रमा उडान सुचारु गर्ने विषयमा सहमतिनजिक पुगेको स्रोतले जनाएको छ । यद्यपि, कोरोना संक्रमणको स्थितिलाई हेरेर नियमक निकायले छिट्टै निर्णय गर्ने स्रोतको भनाइ छ । कोरोना संक्रमण न्यूनीकरणका निम्ति गत चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडान स्थगित छ । सरकारको पछिल्लो निर्णयअनुसार असार १६ गतेसम्म उडान स्थगित रहेको छ ।

यसैबीच नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा भने घटाएको छ । हवाई इन्धनको मूल्य घटेको स्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत हवाई भाडा समायोजन गराउन पत्राचार गरेपछि संघले मूल्य घटाएको हो । नयाँ भाडादर अनुसार काठमाडौं माउन्टेन उडानका लागि ८ सय ६० रुपियाँ घटाएर २ हजार २ सय ३० रुपियाँ कायम गरिएको छ ।

त्यस्तै काठमाडौं–भद्रपुरको ७ सय ५० रुपियाँ घटाएर १ हजार ९ सय ५० रुपियाँ कायम भएको छ भने काठमाडौं–विराटनगर ६ सय रुपियाँ घटाएर १ हजार ५ सय ५० रुपियाँ कायम भएको छ । काठमाडौं–पोखराको २ सय ७० रुपियाँ घटाएर ६ सय ९५ रुपियाँ बनाइएको छ ।

हवाई भाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएअनुसार काठमाडौं–धनगढीको १ हजार १ सय ५ रुपियाँ घटाएर २ हजार ८ सय ७० रुपियाँ रहेको छ । काठमाडौं–नेपालगन्जको ८ सय १५ रुपियाँ घटाएर २ हजार १ सय १५ रुपियाँ बनाइएको छ । सबैभन्दा कम काठमाडौं–सिमरा र सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस